दाङ । देउखुरी क्षेत्रमा यात्रुलाई बासी तथा अस्वस्थकर खाना खुवाएको आरोपमा पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहितको संयुक्त अनुगमन टोलीले होटलमा खाद्य सुरक्षासम्बन्धी गम्भीर कमजोरी फेला परेपछि जरिवाना गरेको हो।
अनुगमनका क्रममा होटलको फ्रिजमा बासी तथा अस्वस्थकर खाना भण्डारण गरिएको, पकाइने परिकारमा कृत्रिम रङ प्रयोग गरिएको, भान्साको संरचना मापदण्डअनुसार नभएको, मूल्यसूची नराखिएको, नालीमा फोहोर पानी जमेको र भान्सामा दुर्गन्ध रहेको पाइएको कार्यालयले जनाएको छ।
प्रमुख बरालका अनुसार उक्त होटललाई यसअघि पनि पटकपटक सुधारका लागि निर्देशन दिइएको थियो। तर, निर्देशनको बेवास्ता गर्दै आवश्यक सुधार नगरेपछि पुनः गरिएको अनुगमनमा पनि अवस्था उस्तै भेटिएपछि जरिवानाको निर्णय गरिएको हो।
होटललाई तोकिएको २५ हजार रुपैयाँ जरिवाना एक साताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन तथा आवश्यक कागजातसमेत पेश गर्न निर्देशन दिइएको छ।
यसैबीच, अनुगमन टोलीले शुक्रबार देउखुरी क्षेत्रका सात वटा होटलमा समेत खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अनुगमन गरेको जनाएको छ।







