एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको प्रश्नपत्र व्हाट्सएप समूहमा सार्वजनिक गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्दै आएका ३३ वर्षीय सन्दीप सिंहलाई शुक्रबार पक्राउ गरेको जनाएको छ ।

सीआईबीका अनुसार साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको MGT 515: Organizational Behaviou विषयको प्रश्नपत्र विभिन्न व्हाट्सएप समूहमा सार्वजनिक गरिएको थियो। घटनाबारे अनुसन्धान गर्ने क्रममा सिंहलाई मध्यपुर थिमीबाट पक्राउ गरिएको हो ।

प्रहरीले पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । सीआईबीले एमबीएस प्रथम सेमेस्टरका अन्य विषयको परीक्षा अझै सञ्चालनमा रहेकाले प्रश्नपत्र चुहावट वा गोपनीयता भंग हुने कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गरेको छ ।

प्रहरीले परीक्षा सम्बन्धी गोप्य सामग्री चुहाउने वा सार्वजनिक गर्ने कार्य कानुनविपरीत रहेको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।