काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार र घटनाको निष्पक्ष छानबिनका लागि पहल थालेकी छन्।
सोमबार जारी गरेको वक्तव्यमा मन्त्री मेहताले घटनामा ज्यान गुमाएका देवानगञ्जका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन्। उनले झडपमा परी घाइते भएका सर्वसाधारण तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिएकी छन्।
घटनाबारे जानकारी पाएलगत्तै आफूले सम्बन्धित सुरक्षा निकाय र जिल्ला प्रशासनसँग निरन्तर समन्वय गरी अवस्था नियन्त्रणमा लिन तथा घाइतेहरूको तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको मन्त्री मेहताले बताएकी छन्।
उनले संवेदनशील परिस्थितिमा अपुष्ट सूचना र अफवाहको पछि नलाग्न नागरिकलाई आग्रह गर्दै सामाजिक सद्भाव र आपसी भाइचारामा खलल पुग्ने गतिविधिबाट टाढा रहन अपिल गरेकी छन्।
मन्त्री मेहताले घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गर्दै सबै पक्षलाई धैर्य, संयमता र जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गरेकी छन्। साथै, शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्नसमेत उनले सबैमा अपिल गरेकी छन्।







