सुनसरीमा कर्फ्युबीच पनि सर्वसाधारणका घर तोडफोड र आगजनी

सुनसरी । स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज क्षेत्रमा हिंसात्मक गतिविधि रोकिएको छैन। प्रदर्शनकारीको एक समूहले जनप्रतिनिधिसहित सर्वसाधारणका घरमा आगजनी तथा तोडफोड गरेको छ।

आइतबार राति भएको घटनाको विरोधमा सोमबार विभिन्न गाउँबाट प्रदर्शन भइरहेका बेला अवस्था थप तनावग्रस्त बनेको हो। कर्फ्युका बाबजुद प्रदर्शनकारीले वडा नं. ३ का वडाध्यक्ष अनिल भगतको घरमा तोडफोड गरी आगजनी गरेका छन्। स्थानीयका अनुसार अन्य केही सर्वसाधारणका घरमा पनि क्षति पुर्‍याइएको छ।

त्यसैगरी, प्रदर्शनकारीहरूले सडकमा गुडिरहेका अटोरिक्सा र भ्यानमाथि समेत तोडफोड गरी क्षतिग्रस्त बनाएका छन्।

सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको जनाएको छ।