सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू

विराटनगर । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएपछि पूर्व–पश्चिम (महेन्द्र) राजमार्गसमेत प्रभावित भएको छ। यस परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग आसपासका क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार साँझ जारी गरेको आदेशअनुसार आज राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यू लागू रहनेछ।

प्रशासनका अनुसार इनरुवा नगरपालिका–३ र ६ को सिमाना (घोपली टोल) देखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा महेन्द्र राजमार्गको दुवैतर्फ ५०० मिटर क्षेत्रभित्र कर्फ्यू लागू गरिएको हो। उक्त क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ लगायतका गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

कर्फ्यू आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने प्रशासनले चेतावनी दिएको छ।

आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडपपछि प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यस घटनापछि सोमबार दिनभर सुनसरीका विभिन्न स्थानमा प्रदर्शन भएको थियो।

प्रदर्शनकारीहरूले लौकी, भोक्राहा र इनरुवा क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै टायर बालेर विरोध जनाएका थिए। केही स्थानमा सवारीसाधनमा तोडफोडको अवस्था समेत सिर्जना भएपछि प्रशासनले राजमार्ग क्षेत्रमा पनि कर्फ्यू विस्तार गरेको हो।

यसअघि देवानगञ्ज र हरिनगरका पाँच प्रमुख बजार क्षेत्रमा कर्फ्यू लागू भइसकेको थियो। अब राजमार्ग क्षेत्रसमेत कर्फ्यूको दायरामा परेपछि सुनसरीको मुख्य यातायात र बजार गतिविधि प्रभावित हुने देखिएको छ।

प्रशासनले भने राजमार्गमा रोकिएका सवारीसाधनलाई सुरक्षा व्यवस्थासहित गन्तव्यतर्फ पठाउने तयारी भइरहेको जनाएको छ।