काठमाडौं – स्वास्थ्य तथा सास्वच्छता मन्त्रालयले अस्पतालमा सेवा अवरुद्ध नगर्न स्वास्थ्यकर्मीलाई अपिल गरेको छ । मन्त्रालयले मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरी आन्दोलनरत चिकित्सकलाई अस्पतालमा स्वास्थ्य सेवा अवरुद्ध नगर्न अपिल गरेको हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले गरेको दमनको आरोपमा नेपाल चिकित्सक संघले आज आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । सो घोषणापछि आज देशभरिका अस्पताल प्रभावित भएका छन् ।
संघले नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।
मन्त्रालय दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढेको जानकारी दिँदै चिकित्सकहरूलाई सेवा नरोक्न अपिल गरेको हो ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवा हो । नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नु तथा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न पाउनु स्वास्थ्यकर्मीको अधिकारका साथै सबै नागरिकको साझा दायित्व पनि हो । त्यसैले स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सा पेशाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्वाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई मन्त्रालय अपिल गर्दछ ।’







