काठमाडौं । कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी आदेशअनुसार मंगलबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु लागू गरिएको हो।
कर्फ्युको दायरा पूर्वमा पकली चोकदेखि पश्चिममा कोशी ब्यारेज पुलसम्म, महेन्द्र राजमार्गको उत्तर र दक्षिणतर्फ २०० मिटर क्षेत्र तथा सम्पूर्ण इनरूवा बजार क्षेत्रसम्म फैलिएको प्रशासनले जनाएको छ।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउलगायतका सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न तथा कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।







