काेशी प्रदेशमा सर्वदलीय बैठक आह्वान

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीमा उत्पन्न पछिल्लो घटनाक्रम र त्यसबाट सिर्जित शान्ति–सुरक्षाको अवस्थाबारे छलफल गर्न बुधबार सर्वदलीय बैठक आह्वान गरेका छन्।

प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार बैठक आज दिउँसो १२ः३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ।

बैठकमा सुरक्षा निकायका प्रमुख, सुनसरीका प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहनेछ। प्रदेशमा शान्ति–सुरक्षा सुदृढ बनाउने, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने र पछिल्लो घटनाको समग्र अवस्थाबारे छलफल हुने जनाइएको छ।

यसअघि मुख्यमन्त्री कार्कीले भिडियो सन्देशमार्फत पनि आम नागरिकलाई संयमित रहन, शान्ति कायम राख्न र सामाजिक सद्भाव जोगाउन आग्रह गरेका छन्।