असोज, ३० काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले अपराधको प्रवृत्ति विष्लेषण गरेर रणनीतिक योजनाका साथ अघि बढ्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।
थापाले सङ्गठनको सुदृढीकरणमा मन्त्रालयको सकारात्मक सहयोग रहने विश्वाससमेत दिलाए । प्रहरीको मनोबल उच्च बनाउन निर्देशन दिँदै गृहमन्त्री थापाले समाज र प्रहरी एक अर्काबाट भिन्न हुन नसक्ने भएकाले सोचमा परिवर्तनको खाँचो औँल्याए । थापाले सङ्घीय संरचनामा गएपछि अग्रगामी विकास हुनेसमेत विश्वास व्यक्त गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीले गरेका काम कारवाहीका बारेमा जानकारी गराउँदै एक वर्षमा ४० हजार मुद्दा अनुसन्धान गरेको जानकारी दिए । उनले पद्धतिको विकास गर्ने चरणमा प्रहरी सङ्गठन रहेकोसमेत बताए।
प्रहरी महानिरीक्षक थापाले पछिल्लो समयमा गरिएको एक अनुसन्धानले सरुवा, बढुवा र मिसनमा खटिने प्रहरी चयनको मापदण्ड पारदर्शी गर्नुपर्ने आवश्यकता औँल्याएको बताउनुभयो । उहाँले प्रहरीले जागिर छाड्नुपर्ने कारणको बारेमा उक्त अनुसन्धानले केही तथ्यहरु औँल्याएको बताउनुभयो । समारोहमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले अमर प्रहरी स्मारकमा पुष्प अर्पण गर्नु भएको थियो । सोही क्रममा सेवा निवृत्त प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले अमर प्रहरीका परिवारलाई छात्रवृत्ति प्रदानमा सहयोग पु¥याउने उद्देश्यले रु ११ लाखको ‘अच्युत– मीना अक्षयकोष’ स्थापना गरी प्रहरी महानिरीक्षकलाई नगद हस्तान्तरण गरे । समारोहमा निवृत्त प्रहरी उपरीक्षक तुलाबहादुर केसीलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।







