दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ ।दाङमा यस वर्ष हालसम्म कुल धान रोपाइँको ९४ प्रतिशत काम सम्पन्न भएको छ। जिल्लामा कुल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिन रहे पनि करिब ५० प्रतिशत क्षेत्रमा मात्रै धान खेती हुने गरेको छ। यस वर्ष ३७ हजार २२५ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ३४ हजार ९९१ हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

देउखुरी उपत्यकाअन्तर्गत लमही नगरपालिका तथा राप्ती, गढवा र राजपुर गाउँपालिकामा सिँचाइ सुविधा उपलब्ध भएकाले ती क्षेत्रमा रोपाइँ सहज रूपमा सम्पन्न भएको छ।

जिल्लामध्ये सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा आठ हजार ९७ हेक्टरमा धान खेती गरिन्छ। त्यसपछि तुलसीपुर उपमहानगरपालिकामा छ हजार ७९५ हेक्टर, दङ्गीशरण गाउँपालिकामा तीन हजार ४१२ हेक्टर, गढवा गाउँपालिकामा तीन हजार २८० हेक्टर र लमही नगरपालिकामा तीन हजार २५० हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ।

यस्तै, राप्ती गाउँपालिकामा तीन हजार २४५ हेक्टर, राजपुर गाउँपालिकामा तीन हजार १०३ हेक्टर, शान्तिनगर गाउँपालिकामा दुई हजार ७५० हेक्टर, बबई गाउँपालिकामा दुई हजार १५० हेक्टर तथा बङ्गलाचुली गाउँपालिकामा एक हजार १४३ हेक्टर क्षेत्रमा धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषिप्रसार अधिकृत आशा भण्डारीले जानकारी दिइन्।

दाङका किसानले सावित्री, मनसुली, राधा–४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस–३१२ लगायतका वर्णशंकर जातका धान रोप्ने गरेका छन्। कम पानी पर्ने क्षेत्रमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका बीउ प्रयोग गरिन्छ। साथै, स्थानीय तिल्की र सिम्ठारो जातका धानको खेती पनि केही किसानले निरन्तर गर्दै आएका छन्।

गत आर्थिक वर्ष दाङमा ३५ हजार ३२८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो, जहाँबाट एक लाख ४४ हजार २६४ मेट्रिक टन धान उत्पादन भएको थियो।