काठमाडौं। नेपाली समाजमा अझै विद्यमान छाउपडी प्रथा, गरिब किसान र हली जीवनको यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक चलचित्र ‘हली’ आज (शुक्रबार)देखि देशभरका चलचित्र हलमा भोली बाट प्रदर्शनमा आउँदैछ
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रले छाउपडी प्रथाका कारण बालिका तथा महिलाले भोग्नुपर्ने विभेद, सामाजिक दुर्व्यवहार र पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। समाज परिवर्तनका लागि एउटा सचेत नागरिक नै पर्याप्त हुन्छ भन्ने बलियो सन्देश बोकेको चलचित्रको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका हुन्।
चलचित्रका निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले चलचित्रले दर्शकको मन जित्नुका साथै अपेक्षाभन्दा राम्रो व्यापार गर्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार प्रदर्शनअघि नै प्राप्त सकारात्मक प्रतिक्रियाले निर्माण टिम थप उत्साहित बनेको छ।
काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित विशेष प्रदर्शनमा चलचित्रकर्मी, सञ्चारकर्मी तथा दर्शकबाट चलचित्रले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको थियो। छाउपडीजस्तो गम्भीर सामाजिक विषयलाई प्रभावकारी रूपमा पर्दामा उतारेको भन्दै अधिकांश दर्शकले निर्माण टिमको प्रशंसा गरेका थिए।
प्रदर्शनअघि चलचित्रको प्रचारप्रसार पनि व्यापक रूपमा गरिएको छ। पोखरालगायत विभिन्न शहरमा आमा समूहले घरदैलो अभियान सञ्चालन गरेका छन् भने विद्यालय, बजार क्षेत्र र विभिन्न स्थानमा पनि प्रचार अभियानलाई तीव्र बनाइएको निर्मात्री पूजा गुरुङले जानकारी दिइन्।
चलचित्रमा मुख्य नायक प्रमोद अधिकारीको प्रमुख भूमिका रहेको छ। साथै निर्देशक ओम प्रतीक, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रको अर्को आकर्षण यसको प्रमोशनल गीत हो, जसमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष प्रस्तुति दिएका छन्।
यस चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन्। चलचित्रको छायांकन राहुल राई, सम्पादन रामप्रसाद चौधरी र विपिन मल्ल, तथा द्वन्द्व निर्देशन कुमार महर्जनले गरेका हुन्।
चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। निर्माता जश्मिन श्रेष्ठको शब्द रहेको एक गीतमा बाबुल गिरी र शान्तिश्री परियारले स्वर दिएका छन् भने उक्त गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले गरेका छन्।
नेशनल सिने ग्रुपले वितरण गरेको चलचित्र **‘हली’**को डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ। सामाजिक यथार्थ, छाउपडी प्रथाविरुद्धको सशक्त आवाज र परिवर्तनको सन्देश बोकेको यस चलचित्रले नेपाली दर्शकमाझ विशेष स्थान बनाउने विश्वास निर्माण पक्षले लिएको छ।







