डेमोक्रेटिक लयर्स एसोसिएसनका पाँचलाई कारवाही

कात्तिक १, काठमाडौं ।
नेपाल बार एसोसिएसनको चुनावमा आफ्नो संगठनका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनले (डिएलए) तीन वरिष्ठ अधिवक्तासहित ५ जनालाई कारबाही गरेको छ ।

डिएलएले बिहीबार नेपाल बारका दुई पूर्वअध्यक्षसहित ५ जनालाई कारबाही गरेको हो । २०७५ चैतमा सम्पन्न निर्वाचनमा वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठसँग डिएलएका उम्मेदवार सुनीलकुमार पोखरेल पराजित भएका थिए ।

पराजयपछि चुनावको समीक्षा गरी सुझाव दिन डिएलएले समिति गठन गरेको थियो । सुझाव र प्राप्त उजुरीका आधारमा ५ जनालाई कारबाही गरिएको डिएलएले जनाएको छ ।

डिएलएले कारबाही गरेका बारका पूर्वअध्यक्षमा हरिहर दाहाल र प्रेमबहादुर खड्का छन् । उनीहरूलाई डिएलएको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ ।

यस्तै, डिएलएकै पूर्वअध्यक्ष यदुनाथ खनाललाई पनि साधारण सदस्य नरहने गरी कारबाही गरिएको छ । बारका पूर्वमहासचिव विजय मिश्र र काठमाडौं बारका पूर्वअध्यक्ष सीताराम दवाडी समेत कारवाहीमा परेका छन् ।

डिएलएको अनुशासन समितिले भदौ ३ गते ५ जनालाई नै स्पष्टीकरण सोधेको थियो । उनीहरू पाँचै जनाले स्पष्टीकरणको जवाफ समेत दिएका थिएनन् ।