काठमाडौं । बजारमा देखिएको औषधिको अभाव सम्बोधन गर्न औषधि व्यवस्था विभागले अभाव भएका औषधिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले सूचना जारी गर्दै अस्पताल, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, नागरिक तथा अन्य सरोकारवालासँग औषधि अभावसम्बन्धी यथार्थ विवरण माग गरेको हो।
विभागले बिरामीको उपचारका लागि अत्यावश्यक औषधिको सहज, नियमित र निरन्तर उपलब्धता सुनिश्चित गर्न तथा नेपालमा दर्ता नभएका वा सीमित रूपमा मात्र दर्ता भएका औषधिको दर्ता प्रक्रियालाई सहजीकरण गर्न विवरण संकलन गर्न लागेको जनाएको छ।
औषधि अभावका कारण बिरामीको जीवन जोखिममा पर्न सक्ने, उपचारमा कठिनाइ हुने, रोग पहिचानमा समस्या आउने तथा स्थायी अपाङ्गता समेत हुन सक्ने भएकाले समयमै सूचना संकलन आवश्यक रहेको विभागले जनाएको छ।
विभागले सम्बन्धित सबै पक्षलाई सूचना प्रकाशित भएको मितिले १० दिनभित्र गुगल फर्ममार्फत अभाव रहेका औषधिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ। संस्थागत रूपमा विवरण पठाउँदा आधिकारिक पत्र अनिवार्य संलग्न गर्नुपर्ने विभागले जनाएको छ।








