कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले २९ साउनमा आयोजना गर्ने राष्ट्रिय भेलाको स्थान तय गरेको छ। समूहले काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेला गर्ने निर्णय गरेको हो।

इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाका लागि मिराकल पार्टी प्यालेस बुकिङ गरिएको जानकारी दिए। उनका अनुसार भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ।

तीन दिनसम्म चल्ने भनिएको उक्त भेलामा पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहनेछ। इतर समूहले भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने दाबी गरेको छ।

कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्री देउवा बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुग्नेछन्। उनी थाई एयरको उडानमार्फत स्वदेश फर्किन लागेका हुन्।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएपछि देउवा उपचारका लागि विदेश गएका थिए। उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्समार्फत सिंगापुर पुगेका थिए भने ७ चैत २०८२ मा थप उपचारका लागि हङकङ गएका थिए।