पत्रकार किशोर श्रेष्ठको रिहाइ गर्न प्रचण्डको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग गरेका छन्।

प्रचण्डले स्थापित सञ्चारमाध्यमका सम्पादकलाई समाचार प्रकाशनसँग सम्बन्धित विषयमा निश्चित कानुनी विधि र प्रक्रिया नअपनाई राज्य पक्षबाट धरपकड गरिनु लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत भएको बताएका छन्।

‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो,’ प्रचण्डले भनेका छन्।

उनले श्रेष्ठलाई तत्काल रिहा गर्न आग्रह गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न राज्यको ध्यानाकर्षण गराएका छन्।

समाचार प्रकाशनसँग जोडिएको विषयमा श्रेष्ठमाथि भएको पक्राउ तथा धरपकडप्रति आपत्ति जनाउँदै प्रचण्डले कानुनी प्रक्रिया र प्रेस स्वतन्त्रताको मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।