काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले पोल्ट्री क्षेत्रका समस्या र चुनौतीबारे कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग छलफल गरेको छ। संघले उठाएका विषयमा मन्त्री चौधरीले सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।
मन्त्रालयमा साउन २८ गते भएको भेटमा संघका प्रतिनिधिहरूले पोल्ट्री क्षेत्रले देशको अर्थतन्त्र, रोजगारी सिर्जना र पोषण सुरक्षामा पुर्याउँदै आएको योगदानबारे जानकारी गराएका थिए।
छलफलमा पोल्ट्री व्यवसायमा प्रयोग हुने कच्चापदार्थ आयातमा लाग्दै आएको कृषि सुधार शुल्क तथा भन्सार, विद्युत महसुलमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका विषयमा संघले सरकारको ध्यानाकर्षण गराएको थियो।
त्यस्तै, खुला सीमा नाकाबाट हुने अण्डा, चल्ला, जिउँदो कुखुरा तथा तयारी मासुको अवैध आयातले स्वदेशी किसान र व्यवसायी प्रभावित भएको भन्दै संघले नियन्त्रणका लागि तत्काल पहल गर्न माग गरेको थियो।
संघका अनुसार मन्त्री चौधरीले पोल्ट्री क्षेत्रमा लाग्दै आएको भ्याट हटाउने तथा अवैध आयात नियन्त्रणका लागि आवश्यक कदम चाल्ने आश्वासन दिएकी छन्।
प्रतिनिधिसभा सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको समन्वयमा भएको छलफलमा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, उपाध्यक्ष ज्योतेन्द्र श्रेष्ठ, अमोद खनाल, महासचिव भेषराज अर्याल, सल्लाहकार सुनिलकुमार शाक्य तथा व्यवसायी राजन पियालगायतको सहभागिता थियो।
संघले मन्त्रीसँगको छलफल प्रभावकारी भएको र पोल्ट्री क्षेत्रलाई आत्मनिर्भर तथा दिगो बनाउन सरकार, व्यवसायी र किसानबीच सहकार्य आवश्यक रहेको जनाएको छ।






