काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्।
सोमबार प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा मुख्यमन्त्री बानियाँले राजीनामा दिने घोषणा गरेका हुन्। सरकारलाई समर्थन गर्दै आएका दलहरूले साथ छाडेपछि आफूलाई मुख्यमन्त्रीको पदमा बसिरहन उपयुक्त नलागेको भन्दै उनले मार्गप्रशस्त गर्ने निर्णय गरेको बताए।
विभिन्न आन्दोलन तथा शान्ति प्रक्रियादेखि सहयात्रा गर्दै आएका दलहरूले पार्टी नेतृत्वको निर्णयका कारण समर्थन फिर्ता लिनुपरेकोमा आफू दुःखी भएको उनले बताए। सहयात्री दलहरूले समर्थन फिर्ता लिएपछि सरकारमाथि विश्वासको संकट उत्पन्न भएकाले त्यस्तो अवस्थामा पदमा रहिरहन उचित नहुने उनको भनाइ थियो।
विश्वासको मत लिनुको सट्टा आफूले राजीनामा दिएर समर्थन फिर्ता लिएका दलहरूलाई नयाँ सरकार गठन गरी अघि बढ्ने अवसर दिएको पनि बानियाँले बताए। त्यस क्रममा उनले आफ्नो कार्यकालमा भएका विभिन्न कामकारबाहीबारे प्रदेशसभालाई जानकारी गराएका थिए।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो। तर आफ्नो पक्षमा बहुमत नपुग्ने देखिएपछि उनले विश्वासको मत लिनुअघि नै राजीनामा घोषणा गरेका हुन्।






