काभ्रे । काभ्रेपलाञ्चोकमा बर्डफ्लू संक्रमण कारण ९० हजार पन्छी नष्ट गरिएको छ । जिल्ला पशुसेवा कार्यालय धुलिखेलले ३० कृषकका ९० हजार पन्छी नष्ट गरिएको बताएको छ ।
बर्डफ्लू संक्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको जनाएको छ । कार्यालयका अनुसार हालसम्म २० कृषकले क्षतिअनुसारको क्षतिपूर्ति प्राप्त गरिसकेका छन् । बाँकी १० कृषकको क्षतिपूर्ति रकम चालु आर्थिक वर्षमा दिइने कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक ब्रजकिशोर ठाकुरले बताए ।
कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा गिरिराज कुखुरा, लेयर्स, ब्रोइलर, राजहाँस, स्थानीय कुखुरा र पेकिङ हाँसलगायत गरी ९० हजार २७५ पन्छी नष्ट गरिएको छ । यस्तै ३८ हजार १८३ अण्डा, १० हजार २१० केजी दाना र पाँच हजार २७५ क्रेट नष्ट गरिएको हो ।
जिल्लाको बनेपा, पनौती तथा पाँचखाल क्षेत्रका विभिन्न फर्ममा बर्डफ्लु सङ्क्रमण पाइएको थियो ।
हाल पनि जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडाइ गरिएको जनाइएको छ ।







