बंगलादेशको राष्ट्रपतिमा मिर्जा आलमगीर निर्वाचित

काठमाडौं । बंगलादेशको संसद्ले सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का नेता मिर्जा फखरुल इस्लाम आलमगीरलाई नयाँ राष्ट्रपति निर्वाचित गरेको छ ।

करिब ३५ वर्षपछि बंगलादेशमा राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदान प्रक्रियाबाट भएको हो । निर्वाचनमा आलमगीरले २५५ मत प्राप्त गर्दै २३औँ राष्ट्रपतिको रूपमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत प्राप्त गरे ।

नवनिर्वाचित राष्ट्रपति आलमगीर बीएनपीका प्रभावशाली नेता हुन् । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख राजनीतिक विरोधीमध्ये एकका रूपमा चिनिन्छन् ।

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि शेख हसिना सत्ताबाट बाहिरिएर भारतमा बस्दै आएकी छन् । बंगलादेशले भारतसँग उनको प्रत्यर्पणका लागि आग्रह गर्दै आएको छ ।

राजनीतिक संकटका कठिन चरणमा बीएनपीको नेतृत्वमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका आलमगीर विभिन्न समयमा पटक–पटक पक्राउसमेत परेका थिए ।

बंगलादेशमा राष्ट्रपतिको पद परम्परागत रूपमा औपचारिक भूमिकामा सीमित मानिन्छ । यद्यपि प्रस्तावित संवैधानिक सुधारअनुसार राष्ट्रपतिलाई थप अधिकार दिने तयारी रहेको बताइएको छ । यस्तो सुधार कार्यान्वयन भएमा राष्ट्रपतिको भूमिका बलियो हुनुका साथै देशका शीर्ष नेतृत्वबीच शक्ति सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।