एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई स्वास्थ्य परीक्षणपछि शुक्रबार पुनः रावलपिन्डीस्थित अदियाला जेल फिर्ता लगिएको छ।
सर्वोच्च अदालतको आदेशपछि खानलाई विस्तृत स्वास्थ्य परीक्षणका लागि इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लगिएको थियो। अदालतले उनलाई दुई दिनभित्र निजी अस्पतालमा लगेर आवश्यक स्वास्थ्य परीक्षण गराउन सङ्घीय सरकारलाई निर्देशन दिएको थियो।
स्थानीय सञ्चारमाध्यम डनका अनुसार कडा सुरक्षा व्यवस्थाबीच अस्पताल पुर्याइएका खानको आवश्यक स्वास्थ्य जाँच तथा प्रारम्भिक चिकित्सकीय परीक्षण पूरा भएपछि शुक्रबार बिहानै जेल फर्काइएको हो।
खानलाई अस्पताल लैजाँदा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो। उनको आवागमनलाई लक्षित गर्दै अस्पताल आसपासको क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। पित्रास बुखारी रोड र सर्भिस रोड साउथ बिहीबार रातिदेखि नै सर्वसाधारणका लागि बन्द गरिएको थियो।
खानको सुरक्षाका लागि इस्लामाबाद राजधानी क्षेत्र प्रहरी, नगर प्रशासन र पाकिस्तान रेन्जर्ससहित ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। राजधानी प्रहरी र जेल अधिकारी सम्मिलित टोलीले अस्पतालसम्मको आवागमन तथा सुरक्षा व्यवस्थापन गरेको थियो।
सन् २०२३ देखि जेलमा रहेका खान हाल तोशाखाना मुद्दासँग सम्बन्धित १४ वर्षको सजाय भोगिरहेका छन्। पछिल्लो समय उनको रक्तचापमा उतारचढाव देखिएपछि स्वास्थ्य परीक्षण गराइएको हो। जेलमा गरिएको पछिल्लो स्वास्थ्य परीक्षणका अभिलेखमा पनि विभिन्न स्वास्थ्यसम्बन्धी लक्षण देखिएको उल्लेख गरिएको छ।
सर्वोच्च अदालतको आदेशअनुसार अस्पतालमा आवश्यक स्वास्थ्य परीक्षण पूरा भएपछि उनलाई पुनः अदियाला जेलमै फर्काइएको अधिकारीहरूले बताएका छन्।







