नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

काठमाडौँ  ।अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ ले आज बङ्गलादेश हाई–परफर्मेन्स टोलीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ।

डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार अपराह्न २ः१५ बजे सुरु हुनेछ। अष्ट्रेलियाको स्थानीय समयअनुसार भने खेल साँझ ६ बजे सुरु हुने तालिका छ।

पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाल ‘ए’ ले आज ब्याटिङ र बलिङ दुवै पक्षमा सुधार गर्दै बङ्गलादेश हाई–परफर्मेन्सलाई कडा चुनौती दिने तयारी गरेको छ। प्रतियोगिताको सुरुआतमै हार बेहोरे पनि नेपालसँग लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अघि बढ्ने अवसर कायमै छ।

नेपालले गत संस्करणको टप एन्ड टी–२० मा पनि बङ्गलादेशको टोलीसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल २९ रनले पराजित भएको थियो। यसपटक भने नेपाल ‘ए’ का लागि विगतको नतिजा उल्ट्याउँदै पहिलो जित हासिल गर्ने अवसर रहेको छ।

प्रतियोगिताको लिग चरणमा नेपालले कुल ६ खेल खेल्नेछ। त्यसैले आजको खेलको नतिजापछि पनि नेपालसँग प्रतियोगितामा आफ्नो स्थिति सुधार गर्ने पर्याप्त अवसर रहनेछ।