वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपभोक्ताका लागि गाईको मासुको मूल्य घटाउने उद्देश्यले आगामी ९० दिनसम्म तीन लाख मेट्रिक टनसम्म ‘ग्राउन्ड बीफ’ भन्साररहित आयात गर्न अनुमति दिने घोषणा गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अमेरिकाले घरेलु गाईको बथान पुनः वृद्धि गर्न र पशुपालकलाई सहयोग गर्ने क्रममा उक्त परिमाणको बीफमा कोटाभन्दा बाहिर लाग्ने अतिरिक्त भन्सार नलिने बताएका हुन् ।
उनका अनुसार आयात हुने बीफ हालको बजार मूल्यभन्दा २५ प्रतिशत कम मूल्यमा बिक्री गर्ने प्रतिबद्धता जनाइएको छ । ट्रम्पले यसबाट अमेरिकी उपभोक्तालाई राहत पुग्ने र घरेलु पशुपालकलाई आफ्नो गाईको बथान विस्तार गर्न थप समय मिल्ने दाबी गरेका छन् ।
यद्यपि, ट्रम्पले बीफ निर्यात गर्ने देश वा कम्पनीको नाम भने सार्वजनिक गरेका छैनन् । अमेरिकी गाईको बथान दशकौँयताकै न्यून स्तरमा पुगेपछि बजारमा आपूर्ति घट्दा मासुको मूल्य बढिरहेको छ ।
सरकारको निर्णयप्रति अमेरिकी पशुपालक तथा उद्योगसम्बद्ध संस्थाहरूले भने असन्तुष्टि जनाएका छन् । उनीहरूले सस्तो विदेशी बीफको आयात बढाउँदा घरेलु पशुपालक प्रभावित हुने र दीर्घकालमा गाईको बथान पुनर्निर्माणमा समस्या आउन सक्ने चेतावनी दिएका छन् ।







