मुस्ताङको खिंगामा सुरु भयो उत्पादन बढाउन मनाइने ‘यार्तुङ पर्व’

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व सुरु भएको छ । मुक्तिनाथ क्षेत्रका विभिन्न गाउँमध्ये पहिलो यार्तुङ पर्व मुस्ताङको खिङ्गा गाउँबाट सुरु गरिएको हो । बर्खायामलाई बिदाइ र हिउँदयामको मौसमलाई स्वागत गर्दै मुक्तिनाथ क्षेत्रका स्थानीयले बर्सेनि यार्तुङ पर्व मनाउने प्रचलन रहेको छ । शनिबार मुस्ताङको खिङ्गा गाउँबाट सुरु भएको यार्तुङ जनपूर्णिमाको दिनमा मुस्ताङको पुराङ रानीपौवा र झारकोट गाउँका स्थानीयले संयुक्त रुपमा यार्तुङ मनाउने गरिएको छ । यो पर्व विशेषगरी उत्पादन राम्रो होस् भन्नका लागि मनाउने गरिएको स्थानीय बताउँछन् ।

यारको अर्थ बर्खा र तुङको अर्थ समाप्ति भन्ने बुझिन्छ । स्थानीय भाषामा यार्तुङको शाब्दिक अर्थ बर्खायाम सकिएको र हिउँदयाम सुरु भएको जनाउँछ । खिङ्गा गाउँका स्थानीय छिचु गुरुङले यार्तुङ पर्वमा गाउँका पुरुष र महिला मिलेर संयुक्त रुपमा विभिन्न कार्यक्रम गरी यार्तुङ पर्व मनाउने गरिएको बताए । स्थानीय गुरुङका अनुसार शनिबार भएको मुक्तिनाथ क्षेत्रको पहिलो यार्तुङमा खिङ्गा गाउँवासीले मुक्तिनाथ मन्दिरको दर्शन गरी यार्तुङ पर्व मनाएको जानकारी दिए ।

खिङ्गा गाउँबाट सुरु भएको मुक्तिनाथ क्षेत्रको यार्तुङ पर्वमा खिङ्गा गाउँका पुरुष र महिला टोलीहरु मौलिक वेषभूषामा चिटिक्क सजिएर गाउँको समाजघरमा जम्मा हुन्छन् । त्यसअघि गाउँका स्थानीय पुरुषहरुले घोडाचढीको तयारी र व्यवस्थापन गर्छन् । महिलाले मीठामीठा खानेकुराका परिकार बनाएर राख्छन् । बिहानको खाना संयुक्त रुपमा गाउँको समाजघरमै खानपान गरी पुरुष मौलिक पहिरनमा सजिएर घोडामा सवार हुन्छन् । घोडामा सवार पुरुषको अघिअघि महिलाले यार्तुङ पर्वसम्बन्धी स्थानीय भाषामा गीत गाउँदै मुक्तिनाथतर्फ उकालो उक्लिन्छन् ।

खिङ्गा गाउँबाट घोडामा सवार गरेका पुरुषको अघिअघि हुँदै महिला स्थानीय गीत गाउँदै झारकोट र पुराङ रानीपौवा हुँदै मुक्तिनाथ दर्शन गर्न पुग्छन् । मुक्तिनाथ मन्दिरमा दर्शन गरी खिङ्गा गाउँको यार्तुङ टोली मन्दिर नजिकै रहेको गुम्बामा पुगेर दर्शन गरी जलपान गर्छन । त्यहाँ स्थानीय गीत गाउँदै स्याब्रो नाच नाच्छन् ।

खिङ्गाबाट मुक्तिनाथ दर्शन गर्न पुगेको खिङ्गा गाउँको यार्तुङ टोली दिउँसो चार बजेपछि मात्रै पुन यार्तुङ पर्वसम्बन्धी गीत गाउँदै फेरि रानीपौवा बजारमा झर्छन् । मुक्तिनाथ रानीपौवामा खिङ्गा गाउँको यार्तुङ पर्व मनाउने आफ्नै भूमि रहेको छ । मुक्तिनाथ मन्दिरबाट फर्किएरपछि खिङ्गा गाउँका पुरुषहरुले रानीपौवा बजार क्षेत्रमा घोडा कुदाउँछन् । घोडाचढी कला प्रदर्शन गरेपछि साँझपख स्थानीय पुरुष र महिलाले संयुक्त रुपमा स्थानीय गीत गाउँदै स्याब्रो नाच देखाउँछन् ।

खिङ्गाबाट मुक्तिनाथ हुँदै रानीपौवा झरेर यार्तुङ पर्व मनाएका स्थानीय पुनः बेलुकापख पुरुष घोडामा सवार हुने र त्यसको अघिअघि महिलाले स्थानीय भाषाको गीत गाउँदै गाउँ फर्किन्छन् र खिङ्गा गाउँको यार्तुङ सकिन्छ । बारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष एवं खिङ्गा गाउँका स्थानीय प्रमेश गुरुङले यार्तुङ पर्व हिमाली संस्कृति र सभ्यता भएको बताए । यार्तुङ पर्वले सदियाँै वर्षदेखि चल्दै आइरहेको घोडाचढी संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्दै गाउँवासीमा एकता र आपसी भाइचारा अभिवृद्धि गर्ने सन्देश प्रवाह हुने गुरुङले बताए ।