टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले पहिलो जित हात पारेको छ ।

सोमबार भएको खेलमा नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट १८.३ ओभरमा ११५ रनमै अलआउट भयो ।

होबार्टका लागि नितेश सामुयलले सर्वाधिक ३७ रन बनाए । टिम वार्डले २३ तथा निवेथन राधाकृष्णनले २० रन जोडे ।

नेपालका लागि नारायण जोशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । पवन सर्राफ र शाहब आलमले २–२ तथा बिपिन खत्रीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । अनिल साहले २८ तथा लोकेश बमले अविजित २० रनको योगदान दिए ।

होबार्टका राफ म्याकमिलनले ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । मार्कस बिनले २ तथा ब्राड्ली होप र निवेथन राधाकृष्णनले समान १ विकेट लिए ।

यसअघि प्रतियोगिताका सुरुवाती दुई खेलमा पराजित भएको नेपाल ‘ए’ले तेस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा खाता खोलेको हो ।

नेपाल ‘ए’ले आफ्नो चौथो खेल बुधबार एसीटी कोमेट्ससँग खेल्नेछ ।