उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशले भोगिरहेको विपत्तिको सामना गर्न राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् । उनले उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको जानकारी दिएका छन् ।

बिहीबार बिहान ६:३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु भएको प्रधानमन्त्री शाहले जनाएका छन् । अहिलेसम्म १५ भन्दा बढी उडान भइसकेका छन् भने थप हेलिकोप्टरहरू उद्धारका लागि तयारी अवस्थामा राखिएका छन् ।

नेपाली सेनाले बिहीबार बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन् । उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक छन् । त्यस्तै, टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत उद्धार गरिएको उनले जानकारी दिएका छन् ।

प्रभावित क्षेत्रमा अत्यावश्यक राहत तथा सहयोग सामग्री पुर्‍याउने काम भइरहेको छ । जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिनलगायतका सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले बताएका छन् ।

उनका अनुसार छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिनेछ । यसबाट प्रभावित नागरिकसँग सम्पर्क स्थापित गर्न सहज हुने अपेक्षा गरिएको छ ।

नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना र पानीको व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताएका छन् । साथै, ड्रोन सर्वेमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

प्रधानमन्त्री शाहले हेलिकोप्टरबाट उद्धार गर्दा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने बताएका छन् । उनले प्रभावित नागरिकलाई धैर्य र संयम कायम राख्दै उद्धार तथा राहतको प्रतीक्षा गर्न आग्रह गरेका छन् ।

‘यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्,’ प्रधानमन्त्री शाहले भनेका छन् ।