कात्तिक २, काठमाडौं ।
भारतीय अभिनेत्री कंगना रानाओत र उनकी बहिनी रंगोली विरुद्ध मुम्बइको बान्द्रास्थित अदालतले साम्प्रदायिक विद्वेश फैलाएको आरोपमा उजुरी लिन आदेश दिएको छ ।
प्राप्त जानकारी अनुसार मुन्ना वराली र साहिल अशरफ सैयद नामका दुई व्यक्तिले अदालतमा रिट हालेका थिए । यसैमाथि अदालतले यस्तो आदेश दिएको हो ।
उनीहरूले उजुरीमा कंगनाका अभिव्यक्तिले हिन्दु र मुसलमान कलाकारबीच दुरी बढेको उल्लेख गरेका छन् । भारतीय कानून अनुसार सिआरपिसीको धारा १५६ को ३ अन्तर्गत उनी विरुद्ध एफआइआर दर्ता गर्न सकिन्छ ।
यस अघि पनि कर्नाटकको एक अदालतले भारतमा भइरहेको किसान आन्दोलनप्रति कंगनाको ट्वीटका कारण एफाइआर दर्ता गर्न आदेश दिइसकेको छ । (एजेन्सी)







