कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीका लागि वैकल्पिक मार्ग खुला

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्न थालिएको छ।

त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आइतबार बिहान कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको हो। सडक भासिएसँगै पृथ्वी राजमार्गको यातायात प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने ठूला सवारीसाधनलाई काठमाडौँ बाइरोड–नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको छ। त्यस्तै, साना सवारीसाधन तथा माइक्रोबसलाई फर्पिङको मार्ग प्रयोग गर्न दिइएको छ।

कान्तिलोकपथमा पहिरोका कारण यातायात अवरुद्ध रहेकाले उक्त सडक पनि सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको सुवेदीले जानकारी दिए।

उनका अनुसार कृष्णभीरमा सडक भासिएपछि यातायात सहज बनाउन वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको हो। साथै, अवरुद्ध कान्तिलोकपथ खुलाउने कामसमेत भइरहेको छ।

बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक तथा राजमार्ग प्रभावित हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राका लागि आवश्यक जानकारी लिएर सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो।

यसैबीच, सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार कृष्णभीरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली घटनास्थलतर्फ पठाइएको छ। विज्ञ टोलीले सडकको भौगोलिक अवस्था र क्षतिको विस्तृत अध्ययन गरेपछि मर्मत तथा पुनःनिर्माणको प्रक्रिया अघि बढाइनेछ।