२३ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायसहित चार जनाविरुद्व कागज खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
आयोगले गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रालिबीच न्यूज प्रिन्ट कागज खरिदमा महाप्रबन्धक उपाध्यायसहित तत्कालीन महाप्रबन्धक सुशील कोइराला, संस्थानकै तत्कालीन अर्थ निर्देशक रामसुन्दर चौधरी र कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपककुमार भंसालीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार अदालतमा मुद्दा दायर गरेको हो ।
चारै जनाविरुद्व रु २६ लाख १६ हजार १० बिगो असुलउपर माग दाबी गर्दै मुद्दा दायर गरिएको छ । कागज खरिद गर्दा भन्सार महसुस रकम, आपूर्तिकर्ता प्रिन्टसेलले ब्यहोर्नुपर्ने सम्झौता भए पनि संस्थानका तत्कालीन महाप्रबन्धक कोइरालालले आफूलाई फाइदा र सम्झौता विपरीत भन्सार छुट गराई संस्थानलाई हानि नोक्सानी पु¥याएकाले मुद्दा दायर गरिएको हो ।
आयोगले निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसुर ठहर गर्दै उक्त रकम माग दाबीसहित मुद्दा दायर गरेको हो ।







