काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत नेपालले आज दोस्रो खेलमा आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको नेपाल आजको खेलमा पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ। नेपाल र मलेसियाबीचको खेल बिहान ७ः१५ बजे सुरु हुनेछ।
१० टोली सहभागी प्रतियोगिताको उपाधि जित्दै सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउने लक्ष्य नेपालले राखेको छ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।
मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने खेल ५० ओभरको हुनेछ। मलेसियाविरुद्ध पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ। हालै सम्पन्न दुई अभ्यास खेलमा समेत नेपालले मलेसियालाई पराजित गरेको थियो।
नेपालले समूह चरणको तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ भने अन्तिम खेल भदौ २३ गते हङकङसँग हुनेछ। साउदी अरेबियाविरुद्ध खेलेका पछिल्ला दुई खेलमध्ये नेपालले एकमा जित हात पारेको छ भने अर्को खेल रद्द भएको थियो। ५० ओभरको क्रिकेटमा हङकङविरुद्ध भने नेपालले चार खेल खेल्दा एक जित र दुई हार बेहोरेको छ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले सन् २०२७ मा आयोजना हुने एसिया कपमा सिधै स्थान बनाउनेछ।







