एसीसी प्रिमियर कप : मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको १०४ रनको सामान्य लक्ष्य नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा अर्जुन कुमालले अविजित ४५ रनको महत्वपूर्ण योगदान दिए । इशान पान्डेले २० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भएको थियो । उसका लागि कप्तान साइद अजिजले ३० तथा अकिल वाहीदले २४ रन बनाए । विरानदीप सिंहले १४ र मुहम्मद स्याहदात राम्लीले १३ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गरे । उनले ७.३ ओभरमा २३ रन खर्चिएर चार विकेट लिए । ललित राजवंशीले दुई तथा हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो । अब नेपालले आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ।