एनपिएल ३: : हिमालय टिभी र नेट टिभीले पाए प्रसारण अधिकार

काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टेलिभिजन र ओटीटी प्रसारण अधिकार टुंगो लगाएको छ । टेलिभिजनतर्फ हिमालय टेलिभिजन र ओटीटीतर्फ नेट टिभीले प्रसारण अधिकार प्राप्त गरेका छन् ।

क्यानका अनुसार नेट टिभीले १८ करोड ४ लाख रुपैयाँमा विश्वव्यापी ओटीटी प्रसारण अधिकार खरिद गरेको छ । यस्तै, हिमालय टेलिभिजनले १४ करोड ६४ लाख रुपैयाँमा नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार पाएको छ । दुवै अधिकारबाट क्यानले कुल ३२ करोड ४८ लाख रुपैयाँ प्राप्त गर्नेछ । यो रकम अघिल्ला संस्करणको तुलनामा बढी भएको क्यान स्रोतले जनाएको छ ।

एनपीएलको पहिलो र दोस्रो संस्करण भारतीय खेलकुद च्यानल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण भएका थिए । पहिलो संस्करणमा डिसहोमको युट्युब च्यानलबाट समेत खेल निःशुल्क हेर्न सकिने व्यवस्था थियो । दोस्रो संस्करणमा नेपालभित्रको प्रसारण अधिकार कान्तिपुर म्याक्सले लिएको थियो भने विश्वव्यापी प्रसारण स्टार स्पोर्ट्स र डिसहोमको ओटीटीबाट गरिएको थियो ।

तेस्रो संस्करणमा पनि स्टार स्पोर्ट्सबाट एनपीएल प्रसारण हुने सम्भावना रहेको बताइएको छ ।

यसैबीच, क्यानले एनपीएलको तेस्रो संस्करणको टिकट बिक्री अधिकार इसेवालाई दिएको छ । इसेवाले ८५ लाख रुपैयाँमा टिकटिङ अधिकार प्राप्त गरेको हो । सम्झौताअनुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत क्यानलाई र ५ प्रतिशत इसेवालाई जानेछ ।

799223247_1084559007355264_7661681720284713056_n-1788777954.jpg