काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म १ हजार ३५७ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्गसमेत भेटिएका छन्।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये १०२ जनाको सनाखत भई परिवारले बुझिसकेका छन्। बाढीपछि अझै ५ हजार ३२६ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
सम्पर्कविहीनमध्ये रसुवाका २ हजार ८६०, नुवाकोटका १ हजार ९८१ नेपाली र करिब ५८७ जना विदेशी पर्यटक रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको र बाढीबाट घाइते भएका ६ हजार ८२७ जनाको उपचार गरिएको जानकारी दिइन्।
उनका अनुसार विभिन्न १० अस्पतालमा ३२७ जना, नेपाली सेनामार्फत ३ हजार ४०४ जना र सशस्त्र प्रहरी बलमार्फत ३ हजार ९६ जनाको उपचार गरिएको छ।
प्राधिकरणका अनुसार विपद् प्रभावित क्षेत्रमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन्।
प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरी ३ हजार ५३३ जनालाई राखिएको छ। तीमध्ये रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ जना रहेका छन्।
उद्धार तथा राहतका लागि नेपाली सेनाले १ हजार १५७ पटक, काठमाडौँबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरी बलले २०३ पटक हेलिकप्टर उडान गरेका छन्।
सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। यस्तै, प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा हाल ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र १८ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ। साथै, ४५७ ग्यास सिलिन्डर अनुदानमा उपलब्ध गराइएको छ।
विद्युत् आपूर्तितर्फ रसुवाका ७८ प्रतिशत, नुवाकोटका ९६ दशमलव ७ प्रतिशत र धादिङका ९९ दशमलव ८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालन भएको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावितका लागि स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी जनशक्ति परिचालन गरी मनोसामाजिक परामर्श सेवा समेत सञ्चालन भइरहेको प्राधिकरणले जानकारी दिएको छ।






