नेपाललाई हराउँदै हङकङ सेमिफाइनलमा, मलेसिया बाहिरियो

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ ।

हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो । नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ र गुल्शन झाले २० रन बनाए ।

हङकङका एइजाज खानले चार विकेट लिए । यासिम मुर्तजाले दुई तथा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले समान एक विकेट लिए ।

त्यसअघि बाबर हायातको शानदार अविजित शतकको मद्दतमा हङकङले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६१ रन बनाएको थियो ।

एक समय १३३ रनमा सात विकेट गुमाएको हङकङलाई बाबर हायात र एहसान खानले सम्हालेका थिए । उनीहरूले अविजित १२८ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलसम्म पुर्‍याए ।

बाबरले १२७ बलमा सात चौका र सात छक्कासहित अविजित ११७ रन बनाए । एहसान ३४ रनमा नटआउट रहे । त्यसअघि शाहिद वासिफले ४५ रनको योगदान दिएका थिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर चार विकेट लिए भने शेर मल्लले १० ओभरमा २७ रन दिएर तीन विकेट लिए ।

यस जितसँगै हङकङ नेपालसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । हङकङको जितका कारण आयोजक मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।