नेपाल भलिबल लिगः काठमाडौँ रेड्सको दोस्रो जित

काठमाडौँ । नेपाल भलिबल लिग (एनभिएल) २०२६ मा काठमाडौँ रेड्सले दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार भएको खेलमा काठमाडौँले सगरमाथा स्म्यासर्सलाई ३–१ सेटले पराजित गरेको हो ।

खेलको सुरुआतदेखि नै दबाब बनाएको काठमाडौँले पहिलो सेट २५–१२ ले सहजै जित्यो । दोस्रो सेटमा भने सगरमाथाले उत्कृष्ट प्रदर्शन गर्दै २५–२२ को जित निकालेर खेल बराबरीतर्फ अघि बढाएको थियो ।

तर, तेस्रो सेटमा काठमाडौँले पुनः लय समात्दै २५–१८ को जित निकाल्यो । निर्णायक चौथो सेटमा पनि काठमाडौँले २५–२० ले बाजी मार्दै खेल ३–१ ले आफ्नो पक्षमा पार्‍यो ।

यो जितसँगै काठमाडौँले तीन खेलबाट चार अंक जोडेको छ । सगरमाथा स्म्यासर्सले भने चार खेलबाट सात अंक हासिल गरेको छ ।

यसअघि मंगलबार भएको पहिलो खेलमा मधेस वारियर्सले खप्तड फाल्कोन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा मधेसको यो पहिलो जित हो भने खप्तडले अहिलेसम्म जितको खाता खोल्न सकेको छैन ।

एनभिएलको पहिलो सिजनमा सगरमाथा स्म्यासर्स, कर्णाली शिवराज, मधेस वारियर्स, खप्तड फाल्कोन्स, काठमाडौँ रेड्स र अन्नपूर्ण स्पाइकर किङ्सले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता भदौ २७ गतेसम्म सञ्चालन हुनेछ । आयोजक केडिया ग्रुपका अनुसार प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।