एनभीएलको उपाधिका लागि अन्नपूर्ण र कर्णाली भिड्दै

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधिका लागि आज अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराज आमनेसामने हुँदैछन् ।

नेपाली भलिबल इतिहासमै पहिलो पटक आयोजना भएको पुरुष फ्रेन्चाइज भलिबल लिगको ऐतिहासिक ट्रफी जित्ने लक्ष्यसहित दुवै टोली कोर्टमा उत्रँदैछन् । फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अपराह्न ४ बजे सुरु हुनेछ ।

लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको अन्नपूर्ण सिधै फाइनलमा पुगेको हो । यता, कर्णालीले प्लेअफमा काठमाडौं रेड्सलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।

लिग चरणको पहिलो खेलमै अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा कर्णालीले अन्नपूर्णलाई ३–१ को सेटमा पराजित गरेको थियो । त्यसपछि भने अन्नपूर्णले लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो ।

फाइनलमा अन्नपूर्णसँग कर्णालीलाई पराजित गर्दै लिग चरणको हारको बदला लिने र पहिलो संस्करणकै ऐतिहासिक उपाधि आफ्नो नाममा गर्ने अवसर छ । कर्णाली भने लिग चरणमा हात पारेको जितलाई दोहोर्‍याउँदै उपाधि उचाल्ने योजनामा हुनेछ ।

६ टोली सहभागी एनभीएलको लिग चरणका खेल सिंगल राउण्ड रोबिन प्रणालीमा सञ्चालन भएका थिए । अन्नपूर्णले पाँचमध्ये चार खेल जित्दै १२ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो । उसका कुनै पनि खेल पाँचौँ सेटसम्म पुगेनन् ।

अन्नपूर्णले सुरुआती खेलमै कर्णालीसँग पराजय बेहोरे पनि त्यसपछि काठमाडौं रेड्स, मधेश वारियर्स, अप्टड फाल्कन्स र सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै सिधै फाइनल