काठमाडौं । लिग चरणमा कर्णाली शिवराजसँग बेहोरेको हारको बदला लिँदै अन्नपूर्ण स्पाइकर किंग्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार भएको फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई सोझो सेटमा ३–० ले पराजित गर्दै एनभीएलको पहिलो च्याम्पियन बन्न सफल भयो । अन्नपूर्णले २५–१५, २५–२० र २५–१७ को जित निकाल्दै उपाधिसँगै २० लाख रुपैयाँ नगद पुरस्कार हात पार्यो । यो नेपाली घरेलु भलिबल इतिहासकै सर्वाधिक पुरस्कार राशि हो ।
मंगोलियाका खेलाडी उरानबायर मंखबायर, इंख एर्डेन जारगालसोट र तुर्मान्डाख गान्खुयागको उत्कृष्ट प्रदर्शनसँगै कप्तान हिमाल सुनारको नेतृत्वमा अन्नपूर्णले सुरुदेखि नै कर्णालीमाथि दबाब कायम राख्यो । कर्णालीले केही उत्कृष्ट र्याली खेले पनि अन्नपूर्णको आक्रामक खेल र उत्कृष्ट समन्वयलाई रोक्न सकेन ।
रेफ्रीको निर्णयपछि विवाद
फाइनलको दोस्रो सेटमा रेफ्रीको निर्णयलाई लिएर केहीबेर विवादसमेत भएको थियो । अन्नपूर्ण ५–२ ले अगाडि रहेका बेला फस्ट रेफ्री विजय केसीले अन्नपूर्णको पक्षमा अंक दिएपछि कर्णालीका कप्तान पहल गहतराजसहित खेलाडीले असन्तुष्टि जनाएका थिए ।
विवाद बढ्दै गएपछि कर्णालीका खेलाडी, प्रशिक्षक र टोलीका अधिकारीहरू कोर्ट छाडेर बाहिर बसे । केहीबेर खेल बहिष्कारको अवस्था सिर्जना भए पनि नेपाल भलिबल संघका उपाध्यक्ष भरतबहादुर शाह र लिगका इन्टिग्रिटी अफिसर श्रवण शाहले सम्झाएपछि कर्णाली पुनः कोर्टमा फर्किएको थियो ।
यसै क्रममा कर्णालीका एक समर्थकले कोर्टतर्फ पानीको बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले उनलाई हलबाट बाहिर निकालेका थिए ।
पहिलो हारपछि लगातार पाँच जित
अन्नपूर्णको उपाधि यात्रा पहिलो खेलबाटै चुनौतीपूर्ण बनेको थियो । टोलीले प्रतियोगिताको उद्घाटन खेलमै कर्णाली शिवराजसँग पराजय बेहोरेको थियो । तर, मंगोलियाको राष्ट्रिय टोलीका तीन खेलाडीको आगमनपछि अन्नपूर्णले उत्कृष्ट पुनरागमन गर्दै लगातार पाँच खेल जितेर ट्रफी उचाल्यो ।
काठमाडौं रेड्सलाई सोझो सेटमा पराजित गर्दै लयमा फर्किएको अन्नपूर्णले त्यसपछि मधेश वारियर्सलाई ३–१, खप्तड फाल्कन्स सुदूरपश्चिमलाई ३–० तथा निर्णायक लिग खेलमा सगरमाथा स्म्यासर्सलाई ३–१ ले हराउँदै सिधै फाइनलमा स्थान बनाएको थियो ।
उपाधि यात्रामा कप्तान हिमाल सुनारसँगै सुरेन्द्र केसी, जितबहादुर शार्की, देव राना र जापानबाट आएका रवि केसीले पनि महत्त्वपूर्ण योगदान दिए ।
विश्वास अधिकारी, राजेन्द्र धामी र विवश आले मगरले समेत आवश्यक समयमा कोर्टमा अवसर पाए । ट्यालेन्ट हन्टबाट टोलीमा छनोट भएका किरण भण्डारीले भने पहिलो संस्करणमै विदेशी तथा राष्ट्रिय स्तरका खेलाडीसँग ड्रेसिङ रुम साझा गर्दै महत्वपूर्ण अनुभव हासिल गरे ।
पहिलो खेलमा हारबाट सुरुआत गरेको अन्नपूर्णले त्यसपछि लगातार पाँच जित निकाल्दै एनभीएलको पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखायो ।





