काठमाडौँ — नेपाली एकदिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। एसिसी प्रिमियर कपअन्तर्गत शनिबार संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको फाइनलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्।
सन्दीपले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५८ तथा टी–२० अन्तर्राष्ट्रियमा १४२ विकेट लिएका छन्। उनले एकदिवसीयतर्फ ७९ र टी–२० अन्तर्राष्ट्रियतर्फ ७८ खेल खेलेका छन्।
युएईलाई पराजित गर्दै नेपाललाई विदेशी भूमिमा एसिसी प्रिमियर कपको उपाधि दिलाएसँगै सन्दीप विदेशी मैदानमा प्रिमियर कप जिताउने नेपाली कप्तानसमेत बनेका छन्। यसअघि सन् २०२३ मा नेपालले घरेलु मैदानमा प्रिमियर कपको उपाधि जित्दा टोलीको कप्तानी रोहितकुमार पौडेलले गरेका थिए।
सन्दीपले एकदिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘प्लेयर अफ द सिरिज’ घोषित हुँदै अर्को कीर्तिमान पनि बनाएका छन्। उनी सन् २०२३ को संस्करणमा समेत प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका थिए। त्यस संस्करणमा उनले ५५ रन बनाउनुका साथै १३ विकेट लिएका थिए।
यसपटक पनि सन्दीपको प्रदर्शन प्रभावशाली रह्यो। एसिसी प्रिमियर कप २०२६ मा उनले छ खेलमा २.९८ को उत्कृष्ट इकोनोमी रेटमा सर्वाधिक १७ विकेट लिए। उनको प्रभावशाली प्रदर्शन नेपाललाई दोस्रोपटक एसिया कपमा स्थान बनाउन महत्वपूर्ण सावित भयो।
यससँगै सन्दीप नेपाली क्रिकेटमा व्यक्तिगत उपलब्धिसँगै टोलीको सफलतामा समेत निर्णायक योगदान पुर्याउने खेलाडीका रूपमा स्थापित भएका छन्।





