काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डका लागि सिफारिस भएको तथा एसिया प्यासिफिक स्क्रिन अवार्डमा विभिन्न विधामा मनोनयनमा परेको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’लाई बधाइ तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री शाहले फिल्म अस्कर र एसिया प्यासिफिक स्क्रिन अवार्डका लागि सिफारिस तथा मनोनयन भएको जानकारीसहितको ग्राफिक्स सामाजिक सञ्जालमा सेयर गर्दै दर्शकलाई फिल्म हेर्न आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘हलमा दोस्रो हप्तामा लाग्दैछ है।’
अविनाशविक्रम शाह निर्देशित ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ यसअघि फ्रान्सको कान्स फिल्म फेस्टिभलमा समेत पुरस्कृत भइसकेको छ । फिल्मको उपलब्धिका लागि नेपाल सरकारले नगद पुरस्कारसहित सम्मानसमेत गरिसकेको छ ।
फिल्म एसिया प्यासिफिक स्क्रिन अवार्डमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेता विधामा मनोनयनमा परेको छ । यसअघि कान्समा प्राप्त सफलतासँगै अन्तर्राष्ट्रिय अवार्डको यात्रामा अघि बढिरहेको फिल्मले नेपालमा पनि दर्शकको ध्यान खिचिरहेको छ ।





