चितवन। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा निर्माण गरिएको नयाँ ट्र्याकमा आजदेखि ग्राभेल बिछ्याउन सुरु गरिएको छ। सडक फराकिलो बनाउने र सतह मिलाउने कामसँगै ग्राभेल हाल्ने कार्य अघि बढाइएको हो।
गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको फेद कटान गरेपछि राजमार्गको एक भाग भासिएको थियो। त्यसपछि सडक सञ्चालनमा ल्याउन सँगैको पहाड काटेर नयाँ ट्र्याक निर्माण भइरहेको छ। हाल दुवैपट्टिबाट तीव्र गतिमा निर्माण कार्य भइरहेको छ।
नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार नयाँ ट्र्याकमा ग्राभेल बिछ्याउने काम सुरु भइसकेको छ। केही दिनभित्रै काम सम्पन्न गर्ने लक्ष्यसहित ठूलो सङ्ख्यामा उपकरण र जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो।
काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्गका रूपमा रहेको पृथ्वी राजमार्गमा दैनिक १४ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्छन्। सडक अवरुद्ध हुँदा राजधानी काठमाडौँमा विशेषगरी ग्यास तथा खाद्यान्न आपूर्तिमा समस्या देखिएको छ।





