काठमाडौँ – अमेरिकाले सोमबारदेखि जी–२० का विभिन्न बैठक सुरु गरेको छ । ऊर्जा क्षेत्रमा ‘प्रचुरता’लाई प्राथमिकतामा राखेर बैठक अघि बढाइए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरुद्धको युद्धका कारण विश्वव्यापी इन्धन बजारमा गम्भीर असर परेको छ ।
तेल उत्पादनका लागि प्रसिद्ध अमेरिकी राज्य टेक्सासको ह्युस्टनमा बुधबारसम्म जी–२० का बैठक सञ्चालन हुनेछन् । बैठकमा विश्वका प्रमुख अर्थतन्त्रका प्रतिनिधिहरू सहभागी हुँदैछन् । चीन, भारत, जापान र जर्मनीसहितका देशका प्रतिनिधि सहभागी हुनेछन् भने क्यानडा र साउदी अरबसहित प्रमुख तेल उत्पादक राष्ट्रका प्रतिनिधि पनि बैठकमा उपस्थित हुनेछन् ।
रुसी अधिकारीहरूले शनिबार मस्कोले पनि बैठकमा केही अधिकारी पठाउने संकेत गरेका थिए । दुई साताअघि भएको जी–२० बैठकमा रुसी अर्थमन्त्री एन्टोन सिलुआनोभको अप्रत्याशित सहभागिताले समेत चर्चा पाएको थियो ।
युक्रेनका युरोपेली सहयोगी राष्ट्रहरूले भने रुसलाई जी–२० बैठकमा आमन्त्रण गर्ने अमेरिकी निर्णयप्रति असन्तुष्टि जनाएका छन् । युक्रेनमाथिको रुसी आक्रमणका कारण मस्कोलाई अन्तर्राष्ट्रिय मञ्चबाट अलग राख्ने प्रयास भइरहेका बेला अमेरिकाले रुसलाई बैठकमा बोलाएको भन्दै उनीहरूले निराशा व्यक्त गरेका हुन् ।
ह्युस्टनमा जी–२० बैठक चलिरहँदा मध्यपूर्वमा जारी युद्धका कारण तेल तथा ग्यासको मूल्य बढिरहेको छ । युरोपले जाडोयाम सुरु हुनुअघि ग्यास भण्डारण केन्द्रहरू पर्याप्त रूपमा भर्नसमेत चुनौती सामना गरिरहेको छ ।
जी–२० को अध्यक्ष राष्ट्रका रूपमा अमेरिकाले सस्तो, भरपर्दो र सुरक्षित ऊर्जामा पहुँच विस्तारलाई प्रमुख प्राथमिकतामध्ये एक बनाएको छ । तर, फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो असर परेको बताइएको छ ।
अमेरिकामा समेत इन्धनको मूल्य तीव्र रूपमा बढेको छ । अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए)का अनुसार डिजेलको मूल्य प्रतिग्यालन ६.२० अमेरिकी डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो । नियमित पेट्रोलको मूल्यसमेत युद्ध सुरु हुनुअघिको तुलनामा ४४ प्रतिशतले बढेको छ ।
युद्ध र त्यसबाट सिर्जित आर्थिक असरका कारण ट्रम्पको रिपब्लिकन पार्टीले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा पराजयको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिरहेको छ ।
राष्ट्रपति ट्रम्पले इरानले आफूलाई राजनीतिक रूपमा कमजोर पार्न युद्ध लम्ब्याइरहेको आरोप लगाउँदै आउनुभएको छ । उहाँले हालै निर्वाचनपछि युद्ध ‘तत्काल’ अन्त्य हुने दाबीसमेत गर्नुभएको थियो ।
यस्तै, ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनले गरेको आक्रमणका कारण अमेरिकामा डिजेलको अभाव सिर्जना भएको आरोप लगाए।
अमेरिकी ऊर्जा सचिव क्रिस राइट र आन्तरिक मामिला सचिव डग बर्गम पनि ह्युस्टनमा हुने जी–२० बैठकमा सहभागी हुने अपेक्षा गरिएको छ । भेनेजुएलासँग सम्बन्धित अमेरिकी ऊर्जा नीतिमा राइटको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।






