तीजको रौनकता बाढीपीडितको पीडामा

कैलाली । तीज भन्नासाथ माइती जाने, दर खाने, नयाँ लुगा लगाउने, दिदीबहिनी भेला भएर नाचगान गर्ने र सुख–दुःख साटासाट गर्ने पर्वको चित्र आँखाअघि आउँछ । तर यस वर्ष कैलालीमा तीजको माहोल केही फरक छ । उत्सव र मनोरञ्जनभन्दा रसुवाको भोटेकोशी बाढीमा प्रभावित तथा बेपत्ता नागरिकप्रतिको संवेदना बढी देखिएको छ ।

रसुवामा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेका बेला कैलालीका समेत केही नागरिक सम्पर्कविहीन छन् । रोजगारी, व्यवसाय वा अन्य कामका सिलसिलामा घरबाट टाढा रहेका आफन्त विपद्पछि सम्पर्कमा नआएपछि धेरै परिवारका लागि तीजको तयारीभन्दा आफ्ना मान्छेको अवस्था थाहा पाउनु प्राथमिकता बनेको छ ।

यही अवस्थाका कारण स्थानीय तह, महिला समूह, आमा समूह तथा विभिन्न संस्थाले आयोजना गर्ने तीजका कार्यक्रम यस वर्ष स्थगित भएका छन् । कतिपय ठाउँमा कार्यक्रम नगरी त्यसमा हुने खर्च विपद् प्रभावितलाई सहयोग गर्ने निर्णय गरिएको छ ।

घोडाघोडी नगरपालिकाकी उपप्रमुख गुलिया चौधरीले रसुवाको बाढीमा कैलालीका धेरै नागरिक सम्पर्कविहीन रहेकाले यस वर्ष नगरपालिकाले तीजका कार्यक्रम आयोजना नगरेको बताइन् ।

“रसुवाको बाढीमा कैलालीका धेरै जना सम्पर्कबाहिर हुनुहुन्छ । धेरै परिवार आफन्तको खबरको प्रतीक्षामा हुनुहुन्छ,” उनले भनिन्, “यस्तो अवस्थामा तीजलाई रमाइलोसँग मनाउन उचित लागेन ।”

तीज मनाउनै नहुने नभए पनि देशका विभिन्न ठाउँमा विपद्को पीडा रहेकाले यस वर्ष संवेदनशील बन्नुपर्ने उनको भनाइ छ । “कैलालीकै नागरिकसमेत बेपत्ता छन् । यस्तो बेला हामीले आफ्नो खुसीसँगै पीडित परिवारलाई पनि सम्झनुपर्छ,” चौधरीले भनिन् ।

जोशीपुर गाउँपालिकाले पनि यस वर्ष तीज विशेष कार्यक्रम आयोजना गरेको छैन । गाउँपालिकाकी उपाध्यक्ष रेखादेवी कठरियाका अनुसार विगतमा विभिन्न वडामा तीजका कार्यक्रम हुँदै आए पनि रसुवाको बाढीपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै यस वर्ष कार्यक्रम नगर्ने निर्णय गरिएको हो ।

घोडाघोडी र जोशीपुरसँगै कैलालीका अन्य स्थानीय तहमा पनि तीजको विगतजस्तो रौनक देखिएको छैन । घोडाघोडी महिला सञ्जालले समेत पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।

सञ्जालकी कोषाध्यक्ष दुर्गा सापकोटाले तीजका अवसरमा हुने खर्चलाई मनोरञ्जनमा मात्र केन्द्रित गर्नुभन्दा विपद्मा परेकालाई सहयोग गर्नु उचित ठानेर कार्यक्रम रोकिएको बताइन् । सञ्जालमा आबद्ध महिला समूहका सदस्यले दर खाने कार्यक्रम नगरी व्यक्तिगत रूपमा बाढीपीडितलाई सहयोग गरेका छन् ।

“तीजमा दर खाने र कार्यक्रम गर्ने योजना थियो । तर रसुवामा बाढी आएपछि त्यस्तो अवस्थामा रमाइलो गर्नुभन्दा पीडितलाई सहयोग गर्नु उचित लाग्यो,” सापकोटाले भनिन् ।

तीजका लागि छुट्याइएको खर्च सहयोगमा रूपान्तरण गर्ने सोच व्यक्तिगत तहमा पनि देखिएको छ । घोडाघोडीकी सुष्मा विष्टले आफन्त बेपत्ता भएको र धेरै परिवार पीडामा रहेकाले यस वर्ष उत्सवभन्दा सहयोगलाई प्राथमिकता दिएको बताइन् ।

“यस पटक तीज मनाउनुभन्दा बाढीपीडितलाई सहयोग गरौँ भन्ने लाग्यो । आफन्त बेपत्ता भएको र धेरै परिवार पीडामा रहेका बेला रमाइलो गरेर मात्र बस्न मनले मानेन,” उनले भनिन् ।

तीजका गीतमा पनि बाढीको पीडा

तीज गीत नेपाली महिलाको मनको आवाजका रूपमा लिइन्छ । परम्परादेखि महिलाले आफ्ना दुःख, पीडा, आशा र सामाजिक अवस्थालाई गीतमार्फत अभिव्यक्त गर्दै आएका छन् । समयसँगै तीज गीतका विषय पनि परिवर्तन हुँदै आएका छन् ।

पहिलेका गीतमा माइतीघरको सम्झना, चेलीका दुःख, घरपरिवार र सामाजिक सम्बन्धका विषय बढी समेटिन्थे । पछिल्लो समय महिला हिंसा, बालविवाह, दाइजो, वैदेशिक रोजगारी, शिक्षा, स्वास्थ्य, महिला अधिकार तथा सामाजिक विकृतिका विषयसमेत तीज गीतमा आउन थालेका छन् ।

यस वर्ष भने प्राकृतिक विपद् र बेपत्ता नागरिकको पीडा पनि तीज गीतको विषय बनेको छ । घोडाघोडी नगरपालिका–१० मा आयोजित प्रथम बुलबुले तीज प्रतियोगितामा सहभागी महिला समूहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको अवस्थालाई गीतमार्फत प्रस्तुत गरेका छन् ।

प्रतियोगितामा सहभागी यम पोखरेलको समूहले भोटेकोशी बाढी र त्यसबाट प्रभावित गरिमा चौधरीको अवस्थालाई तीज गीतमा समेटेको थियो । बाढीमा ज्यान गुमाएका, बेपत्ता भएका तथा आफन्तको प्रतीक्षामा रहेका परिवारको पीडा गीत र प्रस्तुतिमा झल्काइएको थियो ।

पोखरेलले समाजले भोगिरहेको पीडालाई गीतमार्फत उठाउन आवश्यक ठानेर भोटेकोशी बाढी र गरिमा चौधरीको अवस्थालाई प्रस्तुतिमा समेटिएको बताए ।

“अहिले तीज मनाइरहँदा रसुवाको बाढी र त्यहाँ प्रभावित भएका परिवारको पीडा हाम्रो मनमा छ । त्यसैले हामीले भोटेकोशीको बाढी र गरिमा चौधरीको अवस्थालाई गीतमार्फत प्रस्तुत गरेका हौँ,” उनले भने ।

मञ्चमा सारी लगाएका महिला, मादलको ताल र नृत्य देखिए पनि गीतका शब्दमा भने रसुवाको बाढी, बेपत्ता नागरिक र पीडित परिवारको अवस्था थियो । त्यसैले यस वर्षको तीजको प्रस्तुति मनोरञ्जनमा मात्र सीमित नभई विपद्प्रतिको सामूहिक संवेदना र पीडाको अभिव्यक्तिसमेत बनेको छ ।