वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने तयारी गरेको छ । प्रस्तावित सम्झौतामा दुई हजार पाउन्ड तौलका करिब ४० हजार शक्तिशाली बम समावेश छन् ।
प्रस्तावअनुसार २० हजार ‘एमके–८४’ र २० हजार ‘बीएलयू–११७’ बम इजरायललाई बिक्री गरिनेछ । अमेरिकी अधिकारीहरूका अनुसार सम्झौता अझै अन्तिम चरणमा पुगेको छैन । यसबारे अमेरिकी संसद्लाई अनौपचारिक रूपमा जानकारी गराइसकिएको छ ।
सम्झौताको अधिकांश रकम विदेशी सैन्य वित्तीय सहयोगअन्तर्गत उपलब्ध गराइनेछ । सो रकममार्फत इजरायलले अमेरिकाबाटै उक्त हतियार खरिद गर्ने बताइएको छ ।
दुई हजार पाउन्डका शक्तिशाली बमको सम्भावित प्रयोगबाट गाजामा ठूलो मानवीय क्षति हुन सक्ने भन्दै यसअघि चिन्ता व्यक्त हुँदै आएको थियो । यही कारण तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले सन् २०२४ मा यस्ता बमको एउटा खेप इजरायल पठाउन रोक लगाएको थियो । ट्रम्प पुनः राष्ट्रपति बनेपछि भने उक्त रोक हटाइएको थियो।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि घातक आक्रमण गरेपछि इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको थियो । त्यसयता जारी युद्धमा दशौँ हजार प्यालेस्टिनीको मृत्यु भएको र गाजाको ठूलो भूभागमा संरचनाहरू ध्वस्त भएको बताइएको छ । युद्धका कारण गाजामा गम्भीर मानवीय संकट उत्पन्न भएको छ ।
अमेरिकाले गाजामा युद्धविरामका लागि मध्यस्थता गर्दै आए पनि विभिन्न क्षेत्रमा हिंसा जारी रहेको समाचारमा उल्लेख छ । यसैबीच, ट्रम्प प्रशासनले इजरायलको सैन्य क्षमता थप बलियो बनाउने उद्देश्यले विभिन्न कदम अघि बढाइरहेको छ ।
अमेरिका र इजरायलबीच केही विषयमा मतभेद देखिए पनि सैन्य तथा सुरक्षा सहकार्य भने निरन्तर छ । विशेषगरी इरानसँगको द्वन्द्वपछि दुई देशबीचका सम्बन्धमा केही जटिलता देखिएको थियो । राष्ट्रपति ट्रम्पले इरानसम्बन्धी विषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
तर पछिल्लो हतियार बिक्री प्रस्तावले दुई देशबीचको सैन्य सहकार्य जारी रहेको संकेत गरेको छ । गत जुलाईमा ट्रम्प र नेतन्याहुबीच ह्वाइट हाउसमा भेटवार्ता पनि भएको थियो
प्रस्तावित २ अर्ब ८० करोड डलरको हतियार सम्झौता भने अहिलेसम्म अन्तिम रूपमा स्वीकृत भइसकेको छैन । अमेरिकी संसद् तथा सम्बन्धित सरकारी प्रक्रियाहरू पूरा भएपछि मात्र सम्झौताको अन्तिम अवस्था स्पष्ट हुनेछ ।






