कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बित्दासमेत अवस्था पत्ता लाग्न नसकेपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।
काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते दुई जना साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन् । भोलिपल्ट आएको विनाशकारी बाढीपछि उनी सम्पर्कविहीन भएकी हुन् ।
छोरीको खोजीमा उनका बुबा माधव बास्तोला दुई पटक रसुवा र नुवाकोट पुगेका थिए । बाढीबाट भएको ठूलो क्षति देखेपछि सकुशल फर्किने सम्भावना न्यून देखिए पनि परिवारले लामो समयसम्म उनको खोजी र प्रतीक्षा गरिरहेको थियो । घटना भएको २२ दिनसम्म पनि कुनै सूचना प्राप्त नभएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको हो ।
पोखराको तुलसीघाटमा कुशको शवको प्रतिमा बनाएर सृष्टिको अन्त्येष्टि गरिएको छिमेकी वसन्तराज गौतमले बताए ।
“बाढी आउनुअघि भदौ ९ गते साँझ मात्र सृष्टि नुवाकोट पुगेकी रहिछन् । भोलिपल्ट बिहान परिवारसँग कुराकानी भएको थियो । त्यसपछि कुनै सम्पर्क भएन,” गौतमले भने, “बाढीपछि कुनै अप्ठ्यारो ठाउँमा भएर सम्पर्क हुन नसकेको होला भन्ने आशा थियो । तर लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवार अन्तिम संस्कार गर्ने निष्कर्षमा पुगेको हो ।”
अध्ययन पूरा गरी दक्ष प्राविधिक बनेर देश निर्माणमा योगदान गर्ने सपना बोकेकी सृष्टिको बाढीमा बेपत्ता भएपछि परिवार, आफन्त र छिमेकी शोकमा डुबेका छन् । वडाध्यक्ष विष्णुप्रसाद बरालले सृष्टिको निधनले सबैलाई स्तब्ध बनाएको बताए ।
“होनहार छोरी, परिवारको आशा र देशको सम्भावना बोकेकी सृष्टिको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ,” उनले भने ।
यसैगरी भोटेकोशी बाढीमा बेपत्ता पोखरा महानगरपालिका–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारी क्षेत्रीको परिवारले पनि कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेको छ । टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत अधिकारी बाढी आएको दिनदेखि सम्पर्कविहीन छन् । लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गरेको छिमेकी घनश्याम पाण्डेले बताए ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पोखराका अझै १२ जनाको अवस्था अज्ञात छ । आफन्तहरूले सम्भावित स्थानमा पुगेर खोजी गरे पनि कुनै जानकारी प्राप्त हुन नसकेपछि केही परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन् ।
बेपत्ता फर्कने आशा मरेपछि झपट–राधिकाको पनि अन्तिम संस्कार
भोटेकोशी बाढीमा परी भदौ १० गतेदेखि बेपत्ता बेँसीसहर नगरपालिका–११ का झपटबहादुर घर्ती र उनकी श्रीमती राधिका घर्तीको पनि बिहीबार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।
बाढीपछि सम्भावित सबै स्थानमा खोजी गर्दा पनि दम्पतीको अवस्था पत्ता नलागेपछि परिवारले काजकिरिया सुरु गरेको भतिज विशाल घर्तीले बताए ।
“खोज्नुपर्ने सबै ठाउँमा खोजिसक्यौँ । अब उपाय बाँकी रहेन । काजकिरिया सुरु गरेका हौँ,” उनले भने ।
बेँसीसहर–११ का ४५ वर्षीय झपटबहादुर र ४३ वर्षीया राधिका रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । भदौ १० गते आएको बाढीपछि दुवै जना सम्पर्कविहीन भएका हुन् । त्यसयता परिवार तथा सम्बन्धित निकायले सम्भावित क्षेत्रमा खोजी गरे पनि उनीहरूको शव फेला परेको छैन ।
यस्तै, सोही बाढीमा बेपत्ता मस्र्याङ्दी गाउँपालिका–३ खुदीकी रमिला भण्डारीको अवस्था पनि अझै अज्ञात छ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा सबइन्जिनियरका रूपमा कार्यरत भण्डारीको पनि परिवारले संस्कारअनुसार काजकिरिया सम्पन्न गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार भोटेकोशी बाढीमा जिल्लाका १० जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जनाको पहिचानका लागि डीएनए परीक्षण गर्न पठाइएको उनले जानकारी दिए ।






