काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण–पूर्वी क्षेत्रका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थललाई समेटेर ‘बुद्ध–सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ।
ऐतिहासिक पनौती, नमोबुद्ध र तेमाललाई जोडेर निर्माण गर्न लागिएको उक्त परिपथका लागि सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेको छ। क्रमागत बजेटमार्फत आयोजना सम्पन्न गर्ने योजना रहेको काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंले जानकारी दिए।
पहिलो चरणमा रु १० करोड खर्च गरिनेछ। यस चरणमा पनौतीको डबलीदेखि नमोबुद्धसम्मको सडकको दायाँबायाँ बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण गरिनेछ। साथै, विभिन्न स्थानमा माने, चैत्य र लाफिङ बुद्धका प्रतिमा स्थापना गर्नुका साथै थान्का तथा जानकारीमूलक बोर्ड राखिनेछ।
चलनचल्तीमा रहेका सडकलाई नै ‘बुद्ध–सर्किट’का रूपमा विकास गर्ने योजना रहेको सांसद चौलागाईंले बताए। उनका अनुसार यसका लागि गुरुयोजना तयार भइसकेको छ।
पनौती–नमोबुद्ध करिब आठ किलोमिटर सडकलाई बुद्धसँग सम्बन्धित सम्पदाले भरिपूर्ण बनाउँदै आकर्षक पर्यटकीय मार्गका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
बुद्ध–सर्किटअन्तर्गत नमोबुद्ध–भकुण्डे सडकखण्डमा पर्ने दाप्चास्थित बोक्से सामुदायिक वनमा रतुवा मृग पार्कसमेत निर्माण गरिने भएको छ। पार्क निर्माणका लागि बागमती प्रदेशको वन मन्त्रालयमा योजना स्वीकृतिको प्रक्रिया अघि बढाइएको सांसद चौलागाईंले बताए। उनका अनुसार पार्कका लागि स्थान छनोट भइसकेको छ र प्रदेश सरकार पनि सकारात्मक रहेको छ।
त्यसैगरी, बीपी राजमार्गअन्तर्गत भकुण्डेबेँसीको चारदोबाटोमा ‘सांस्कृतिक सङ्गम गेट’ निर्माण गरिनेछ। चारैतर्फबाट देखिने उक्त गेटमा विभिन्न धर्म तथा संस्कृतिका प्रतीक र सन्देशमूलक आकृति राखिने योजना छ।
नमोबुद्धदेखि भकुण्डेबेँसी हुँदै तेमालसम्मको करिब २५ किलोमिटर सडकको दायाँबायाँ पनि बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक संरचना निर्माण गरिनेछ। विभिन्न स्थानमा माने, चैत्य तथा लाफिङ बुद्धका प्रतिमा स्थापना गर्नुका साथै थान्का र अन्य जानकारीमूलक बोर्ड राखिनेछन्।
तेमालको याङबेलमा गुरु रेन्पोछेको विशाल मूर्ति निर्माण गर्ने योजना पनि अघि बढाइएको छ। यसका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
याङबेलमा ‘बुद्ध पार्क’ निर्माण गरी विश्वकै ठूलो गुरु रेन्पोछेको मूर्तिसहित बुद्धको विशाल प्रतिमा र विभिन्न बुद्ध आकृति निर्माण गर्ने योजना रहेको सांसद चौलागाईंले बताए। पार्कमा घण्टाघर, बच्चासहित बाघको प्रतिमा, शान्ति चैत्य, थान्का लेखन विद्यालय तथा पार्किङस्थलसमेत निर्माण गरिनेछ।
तेमालमै थान्का शिक्षालय सञ्चालन गर्ने योजना रहेको उनले बताए। शिक्षालय सञ्चालन भएपछि स्थानीयलाई थान्का सिक्न अन्य सहर जानुपर्ने बाध्यता हट्ने र स्थानीयस्तरमै थान्का लेखनको सीप विकास हुने उनको भनाइ छ।
इतिहासविद्का अनुसार राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी निर्माण गरेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जलसमेत राखिएको शिलालेखमा उल्लेख छ।
तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाका साथै पद्मावती नदी गुप्तरूपमा बग्ने धार्मिक विश्वास छ। भारतको प्रयागमा गङ्गा र यमुनाको सङ्गममा सरस्वती नदी गुप्तरूपमा मिसिएझैँ पनौतीमा रोशीलाई रुद्रावती, पुण्यमातालाई लीलावती र ब्रह्मायणी मन्दिरमुनिबाट गुप्तरूपमा बग्ने नदीलाई पद्मावती मानिँदै आएको छ।
नमोबुद्ध गौतम बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमिसँग जोडिएको ऐतिहासिक तथा धार्मिक स्थलका रूपमा परिचित छ। किंवदन्तीअनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य) का राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमारले गन्धमान पर्वतको जङ्गलमा भोकले छटपटाइरहेको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु दिएर जीवनदान गरेका थिए।
नमोबुद्ध क्षेत्रमा लामा तथा महायानी गुम्बा, ढुङ्गाबाट निर्मित ठूला बुद्धमूर्ति र चैत्य रहेका छन्।
त्यस्तै, ‘तामाङ इतिहास र सभ्यता खोज्नु छ भने तेमाल जानू’ भन्ने आख्यानले तेमालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्छ। नेपाल एकीकरणअघि रिञ्जेन दोर्जे बलको शासनकालमा भारतबाट तिब्बत जाने क्रममा गुरु पद्मसम्भवले तेमालमा ध्यान गरी सिद्धता प्राप्त गरेको इतिहास रहेको बताइन्छ। तेमालको इतिहास, सभ्यता र संस्कृतिलाई झल्काउने विभिन्न संरचना तथा आकृतिसमेत निर्माण गरिएका छन्।






