काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

काभ्रेपलाञ्चोक । काभ्रेमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लाका विभिन्न स्थानीय तहमा ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो।

जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीका अनुसार बनेपा र पाँचखाल नगरपालिकामा सबैभन्दा बढी १३–१३ जनामा सङ्क्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा थप तीन जनामा डेङ्गु पुष्टि भएको उनले जानकारी दिए। नयाँ सङ्क्रमितमध्ये पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका एक–एक जना छन्।

जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठका अनुसार धुलिखेल र पनौती नगरपालिका तथा भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौँरीदेउराली गाउँपालिकामा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन।

गत आर्थिक वर्षमा काभ्रेमा ५९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। मनसुनका बेला लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले यस वर्ष सङ्क्रमण फैलिन नदिन सचेतना तथा सरसफाइ अभियानमा जोड दिइएको श्रेष्ठले बताए।

जनस्वास्थ्य कार्यालयले डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, घरआँगन तथा वरपर पानी जम्न नदिन र लामो बाहुला भएका कपडा लगाउन आग्रह गरेको छ। ज्वरो आउने, टाउको तथा शरीर दुख्ने लगायतका लक्षण देखिएमा स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउनसमेत कार्यालयले अनुरोध गरेको छ।