सुनसरी । हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोड ६४ लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गरिरहेको सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्दा उनीहरू संलग्न रहेको खुलेको हो ।
प्रहरीका अनुसार शम्भुप्रसाद र सुरजप्रसादले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खातामार्फत एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३४० रुपैयाँ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको छ ।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर, सङ्गठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।






