अदालतबाट छुटाइदिने भन्दै पैसा लिने बिचौलिया अदालत परिसरबाटै पक्राउ

काठमाडौं । लागुऔषध मुद्दाका अभियुक्तलाई अदालतबाट छुटाइदिने भन्दै रकम लेनदेन गर्ने दुई जना जिल्ला अदालत, काठमाडौं परिसरबाटै पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी नगरपालिका–६ का अजय थापा मगर र विदुर नगरपालिका–९ का हरिराम गिरी रहेका छन्। थापा बिचौलियाको भूमिकामा रहेको र गिरीले रकम बुझाएको बताइएको छ।

लागुऔषध मुद्दामा पक्राउ परेका प्रतिवादी विमल घलेको शुक्रबार थुनछेक आदेश हुँदै थियो। अदालतमा ‘सेटिङ’ मिलाएर घलेलाई छुटाइदिने भन्दै थापाले चार लाख ८० हजार रुपैयाँ लिएको आरोप छ।

रकम लेनदेन भइरहेको अवस्थामा दुवै जनालाई जिल्ला अदालत, काठमाडौं परिसरबाटै पक्राउ गरिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।

यसैबीच, लागुऔषध मुद्दाका प्रतिवादी विमल घलेलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।