यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका ५ निर्णय
काठमाडौं । सरकारले १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्नुका साथै विभिन्न प्रशासनिक तथा नीतिगत निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।
बैठकले रिक्त रहेका १३ देशमा राजदूत नियुक्तिका लागि नाम सिफारिस गर्दै संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको छ ।
सरकारका अनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा र संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणालाई राजदूतमा सिफारिस गरिएको छ ।
त्यस्तै, जापानका लागि जिज्ञान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ ।
बैठकले नेपाली नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत राख्ने गरी नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ संशोधन गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौंका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै, सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरिएको छ ।





