बझाङ । जयपृथ्वी नगरपालिकास्थित पानकोट पुलबाट सेती नदीमा फालिएको कुकुर जीवितै फेला परेको छ। कुकुरलाई नदीमा फालिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीयवासी तथा पशुपन्छी अधिकारकर्मीले खोजी गर्दा कुकुर सकुशल भेटिएको हो।
केही दिनअघि पानकोट पुलबाट एक महिलाले जिउँदो कुकुरलाई सेती नदीको तीव्र बहावमा फालेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियो सार्वजनिक भएपछि घटनाप्रति सर्वसाधारण तथा पशुपन्छी अधिकारकर्मीले आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका थिए।
तीव्र बहावमा खसेको कुकुर ज्यान जोगाउन सफल भएको र स्थानीय तथा स्वयंसेवकको सक्रियतामा खोजी गरी उद्धार गरिएको बताइएको छ। सार्वजनिक तस्बिरमा कुकुर सकुशल अवस्थामा देखिएको छ।
यस घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले जयपृथ्वी नगरपालिका–३, पडेसकी ४२ वर्षीया बिमलादेवी रोकायालाई पक्राउ गरेको छ। प्रहरीले रोकायालाई नियन्त्रणमा लिएर घटनाको कारण तथा वास्तविकताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपालको कानुनले पशुपन्छीप्रति क्रुर वा निर्दयी व्यवहार गर्न, यातना दिन तथा मार्न निषेध गरेको छ। यस्तो कार्यमा संलग्नलाई कानुनबमोजिम कैद तथा जरिवानाको व्यवस्था रहेको छ।





