संविधान चलाउने हात इमानदार नभए राम्रो संविधान पनि कागजमै सीमित हुन्छ : प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र निरन्तर सक्रिय नभए त्यो कागजमा मात्रै सीमित हुने बताएका छन्।

संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनाप्रति सरकार प्रतिबद्ध रहेको बताए। उनले संविधानको प्रभावकारी कार्यान्वयनका लागि इमानदार प्रयास आवश्यक रहेकोमा जोड दिए।

‘संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने यो एउटा कागज मात्रै बन्नेछ,’ उनले भने।

प्रधानमन्त्री शाहले संविधानले नेपाली जनतासँग गरेका प्रतिबद्धता कानुनी राज्य निर्माणका लागि राखिएका सर्त मात्रै नभई राष्ट्रिय जीवनका आधार भएको बताए। विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य, विकास, समृद्धि, सामाजिक न्याय तथा समतामूलक समाज निर्माण संविधानका प्रमुख आधार रहेको उनको भनाइ थियो।

त्यस्तै, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानवअधिकार र कानुनी राज्यको प्रत्याभूति पनि राष्ट्रिय जीवनका आधार भएको उनले उल्लेख गरे।

प्रधानमन्त्री शाहले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो रहेको स्वीकार गर्दै त्यसविरुद्धको अभियानमा सरकार थप दृढ रहेको बताए।

‘तर जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन्। विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार सचेत छ,’ उनले भने।

सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति, प्रशासनिक संयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको पनि प्रधानमन्त्री शाहले जानकारी दिए।

‘सुशासन नारा होइन, काम हो। र हामी काम गरिरहेका छौँ,’ उनले भने।

संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्रिय विकासको साझा उद्देश्य प्राप्त गर्न सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री शाहले बताए।